९ जेठ, कलैया (बारा) । जिल्ला प्रशासन कार्यालय बाराले प्रशासनिक कामकारबाहीमा संवेदनशीलता र मानवीयताको एक उदाहरणीय नमुना प्रस्तुत गरेको छ । क्यान्सर रोगका कारण ओछ्यानमै थलिएर मृत्युसँग लडिरहेकी एक सिकिस्त महिलालाई प्रशासनले उनको घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
कलैया उपमहानगरपालिका वडा नम्बर २७ निवासी मुरतिया देवी क्यान्सरका कारण ओछ्यानबाट उठ्न समेत नसक्ने अवस्थामा पुगेकी छिन् । शारीरिक रूपमा अशक्त र गम्भीर बिरामी भएका कारण उनी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म आउन असमर्थ थिइन् । उनको अवस्था र नागरिकताको टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै प्रशासनले सिंहदरबारको अधिकार गाउँ-घरमै पुर्याउने राज्यको नीतिलाई व्यवहारमै चरितार्थ गरिदिएको छ ।
पीडित परिवारले मुरतिया देवीको अवस्थाबारे जानकारी गराउँदै नागरिकताका लागि अनुरोध गरेलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रले तत्कालै विशेष टोली परिचालन गर्ने निर्णय लिए । प्रजिअ मिश्र स्वयं टोलीको नेतृत्व गर्दै कलैया-२७ स्थित बिरामीको घरमै पुगेका थिए ।
घरमै पुगेर प्रजिअ मिश्रले बिरामी मुरतिया देवीको स्वास्थ्य अवस्थाको अवलोकन गर्नुका साथै कानुनी परिधिभित्र रही उनको सही सनाखत गराएका थिए । सनाखत र आवश्यक कागजी प्रक्रिया तत्कालै कार्यथलोमै पूरा भएपछि प्रजिअ मिश्रले मुरतिया देवीका पति सञ्जय सहनी मलाहलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
नागरिकता वितरणको यो विशेष र मानवीय कार्यका लागि जिल्ला प्रशासन कार्यालयको टोलीसँगै स्थानीय जनप्रतिनिधिहरू पनि बिरामीको घरमा लामबद्ध भएका थिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रशासकीय अधिकृत मनिषा कर्ण, नायब सुब्बा रत्न स्याङ्गतान, कम्प्युटर अपरेटर हरिवंश चौधरी र कलैया-२७ का वडा अध्यक्ष अशोक तिवारी लगायतको उपस्थिति थियो ।
सरकारी ओहोदाका उच्च अधिकारीहरू र जनप्रतिनिधि आफैँ आफ्नो आँगनमा नागरिकता बोकेर आएपछि पीडित परिवार भावुक बनेको थियो । उनीहरूले संकटको घडीमा प्रशासनले देखाएको यो गुन कहिल्यै बिर्सन नसकिने भन्दै धन्यवाद ज्ञापन गरे । नागरिकता हस्तान्तरण गरेसँगै जिल्ला प्रशासन कार्यालय बाराले क्यान्सर रोगसँग कठोर सङ्घर्ष गरिरहेकी मुरतिया देवीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

















