Logo

९ जेठ,वीरगञ्ज । सप्तरीको बोदेबरसाईन नगरपालिकाभित्र सञ्चालित केही संस्थागत विद्यालयहरूले संघीय सरकारको निर्णयविपरीत आइतबार विद्यालय सञ्चालन गर्दै शुक्रबार बिदा दिने गरेको पाइएको छ।

सरकारले देशभरका विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरेपछि अधिकांश सरकारी तथा निजी विद्यालयहरूले उक्त व्यवस्था कार्यान्वयन गरेका छन्। तर, बोदेबरसाईनका केही निजी विद्यालयहरूले भने आफ्नै अनुकूल समयतालिका बनाएर आइतबार नियमित पठनपाठन सञ्चालन गरिरहेका छन्।

स्थानीय अभिभावकहरूका अनुसार शुक्रबार बिदा दिँदै आइतबार कक्षा सञ्चालन गर्दा विद्यार्थी, शिक्षक तथा अभिभावक सबै अन्योलमा परेका छन्। सरकारद्वारा तोकिएको सार्वजनिक बिदा विद्यालयहरूले मनपरी रूपमा परिवर्तन गर्न नमिल्ने भन्दै अभिभावकहरूले आपत्ति जनाएका छन्।

विद्यालय प्रशासनले भने मुस्लिम समुदायको जुम्मा नमाजलाई मध्यनजर गर्दै शुक्रबार बिदा दिने गरिएको बताउने गरेका छन्। तर, शिक्षा क्षेत्रका जानकारहरूले संघीय सरकारको नीति तथा स्थानीय तहको निर्देशनविपरीत विद्यालय सञ्चालन गर्नु उपयुक्त नभएको बताएका छन्।

स्थानीयवासीहरूले नगरपालिकाको शिक्षा शाखाले निजी विद्यालयहरूको नियमित अनुगमन गरी विद्यालय सञ्चालनमा एकरूपता कायम गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार नियमविपरीत विद्यालय सञ्चालन भए शिक्षा क्षेत्रमा अव्यवस्था बढ्न सक्ने खतरा छ।

बोदेबरसाईन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसागर यादवले शाखाले शुक्रबार विद्यालय बन्द गरेर आइतबार सञ्चालन गर्न अनुमति नदिएको स्पष्ट पारे। यदि यस्तो कार्य गरेको पाइए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।


सम्बन्धित समाचार