Logo

९ जेठ,काठमाडौं । सुनिता डंगोलले फ्रान्सको कान्समा सम्पन्न यस वर्षको कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको बताएकी छन्।

शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले फेस्टिभलको इतिहासमै पहिलो पटक नेपाली चलचित्रले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गरिन्।

उनका अनुसार निर्देशक अविनाश विक्रम शाहको चलचित्र इलिफेन्ट इन द फगले ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत ‘जुरी प्राइज’ जित्नु नेपाली चलचित्र उद्योग, रचनात्मक क्षेत्र तथा नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याउने उपलब्धि हो।

डंगोलले अन्तर्राष्ट्रिय अनुभव, ज्ञान र सीपलाई उपयोग गर्दै रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकासमा काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको बताइन्। साथै, यस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवले नेपाली कला, संस्कृति र सिर्जनशीलतालाई विश्वमाझ परिचित गराउने अवसर प्रदान गर्ने धारणा पनि व्यक्त गरिन्।

फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा त्यहाँ पुगेकी डंगोलले भ्रमणका क्रममा उनलाई काठमाडौंमा आयोजना हुने चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएको जानकारी समेत दिइन्।


सम्बन्धित समाचार