Logo

९ जेठ,काठमाडौं ।  पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। दिउँसो चर्को घाम र तातो हावा चल्न थालेपछि मानिसहरू घरबाहिर निस्कनै कठिन हुन थालेको छ भने सडकहरू सुनसानजस्तै देखिन थालेका छन्।

गर्मी बढेसँगै उखुको जुस, लस्सी तथा चिसो पेय पदार्थ बिक्री हुने स्थानमा सेवाग्राहीको भीड बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका अधिकांश जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो आसपास पुगेको छ। पछिल्ला दिनमा बढ्दो गर्मीका कारण विशेषगरी विद्यालयका बालबालिका तथा दैनिक ज्यालादारी गर्ने श्रमिकहरू बढी प्रभावित भएका छन्।

यता, अत्यधिक गर्मीसँगै विद्युत् आपूर्तिमा समेत समस्या देखिन थालेको छ। नेपालगञ्जका शिवदत्त भट्टका अनुसार चर्को गर्मीका बीच पटक–पटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण थप सास्ती खेप्न बाध्य भएका छन्।

नेपाल विद्युत् प्राधिकरणले गर्मीका कारण शीतल बनाउने उपकरणहरूको प्रयोग अत्यधिक बढ्दा विद्युत् भार बढेको र त्यसले प्रसारण लाइनमा समस्या देखिएको जनाएको छ।


सम्बन्धित समाचार