Logo

१० जेठ, माडी । गणतन्त्र दिवसको अवसर पारेर माडीमा “माडी मौलिक संस्कृति उत्सव २०८३” आयोजना हुने भएको छ । माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी जेठ १५ गते बसन्तपुरस्थित खुला चौरमा उक्त उत्सव सञ्चालन गरिने तयारी गरिएको हो ।

उत्सवमा थारु, बोटे, दुरा, मगर, गन्धर्व लगायत विभिन्न जातजातिका मौलिक झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिने नगर प्रज्ञा प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा भजनकीर्तन, पञ्चेबाजा, परम्परागत लोकनृत्य तथा स्थानीय कला संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुति समावेश गरिनेछ । साथै स्थानीय होटल व्यवसायीको सहकार्यमा साँझ स्थानीय खानाका परिकारको विशेष मेला समेत आयोजना गरिने भएको छ ।

उत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बसेको प्रज्ञा प्रतिष्ठानको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । प्रचार-प्रसार उपसमितिको संयोजकमा विपिन पाठक, झाँकी व्यवस्थापन संयोजकमा चन्द्रमणी महतो, खानाका परिकार मेला संयोजकमा श्याम दुरा, आतिथ्य स्वागत तथा निमन्त्रणा संयोजकमा प्रवीण भण्डारी तथा मञ्च र ध्वनि व्यवस्थापनतर्फ आभाष दुवे र प्रेम बिष्ट लगायतलाई जिम्मेवारी दिइएको छ ।

नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले यस्ता सांस्कृतिक उत्सवले माडीको मौलिक पहिचान संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने विश्वास व्यक्त गरे । उनले माडीको संस्कृति, परम्परा र स्थानीय खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित उत्सव आयोजना गरिएको जानकारी दिए ।

सापकोटाका अनुसार यस प्रकारका कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय व्यापारी, कलाकार र होटल व्यवसायीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ । उत्सवले माडीको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार