Logo

१० जेठ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले पश्चिम तराईका विभिन्न जिल्लामा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर (हिटवेभ) जारी रहने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणका अनुसार पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। लगातार बढ्दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरिएको हो।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलालीकञ्चनपुर लाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ।

त्यसैगरी कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अद्यावधिक रहनुपर्ने सूचीमा समावेश गरिएको छ।

डाक्टरहरूका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

प्राधिकरणले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न सुझाव दिएको छ। अत्यावश्यक कामले बाहिर निस्कनुपरे हल्का तथा पातलो कपडा लगाउन, टाउको छोप्न र शरीरलाई घामबाट जोगाउन आग्रह गरिएको छ।

त्यस्तै प्रशस्त पानी पिउन, कागती पानी, झोलिलो पदार्थ तथा मौसमी फलफूल सेवन गर्न पनि सुझाव दिइएको छ। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्न चिकित्सकहरूले पनि आग्रह गरेका छन्।

बालबालिकालाई दिउँसोको चर्को घाममा खेल्न नपठाउन तथा खेतबारी वा बाहिरी श्रमसम्बन्धी काम बिहान चाँडो वा साँझपख गर्न प्राधिकरणले अनुरोध गरेको छ।

मौसमविद्हरूका अनुसार जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।


सम्बन्धित समाचार