Logo

१० जेठ,काठमाडौं । बाजुरा को हिमाली गाउँपालिका–३ अन्तर्गत लाम्पाटा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। हुम्ला र बाजुराका स्थानीयबीच सीमा विवादलाई लिएर झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहरा का अनुसार स्थानीयले असुरक्षा महसुस गरेपछि लाम्पाटातर्फ लङ रुट पेट्रोल (एलआरपी) टोली पठाइएको हो।

उनले इन्स्पेक्टर लक्ष्मीराज जोशी को कमान्डमा १६ जना नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिइन्। उक्त टोलीसँगै सशस्त्र प्रहरी बल नेपाल का १० जना सुरक्षाकर्मी पनि त्यस क्षेत्रमा गएका छन्।

प्रहरीका अनुसार टोलीले घटनास्थलको सुरक्षा अवस्था, स्थानीयको अवस्था तथा विवादको वस्तुस्थिति बुझ्नेछ। लाम्पाटा क्षेत्र दुर्गम भएकाले जिल्ला सदरमुकामबाट त्यहाँ पुग्न करिब तीन दिन पैदल यात्रा गर्नुपर्ने अवस्था छ।

वैशाख ३ गते हुम्ला र बाजुराको सीमावर्ती क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो। झडपमा बाजुराको हिमाली गाउँपालिका–५ का पाँच जना स्थानीय घाइते भएका थिए।

विवादको केन्द्रमा रहेको लाम्पाटा क्षेत्र हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमासँग जोडिएको क्षेत्र हो। सुरक्षा व्यवस्था सुदृढ बनाउन त्यहाँ अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएपछि विवाद चर्किएको हो।

हुम्लाका स्थानीयले कवारीखोलाभन्दा वारिपट्टि आएर प्रहरी चौकी निर्माण गर्न खोजिएको भन्दै विरोध जनाएका थिए। उनीहरूले कवारीखोलालाई दुई जिल्लाको प्राकृतिक सीमा भएको दाबी गरेका छन्।

हुम्लाका डीएसपी शङ्कर खड्का का अनुसार खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयले बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ सहित पाँच जनामाथि कुटपिट गरेका थिए।

सीमा विवादका कारण स्थानीयस्तरमा तनाव बढेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा उपस्थिति बढाएको हो।

यसैबीच सुदूरपश्चिम चिनाउने अभियानअन्तर्गत साइपाल बेसक्याम्पतर्फ जाँदै गरेको गोपाल हमाल नेतृत्वको टोली पनि सुरक्षा संवेदनशीलताका कारण बीच बाटोबाटै फर्किएको बताइएको छ।

स्थानीय प्रशासनले दुवै जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर विवाद समाधानको प्रयास भइरहेको जनाएको छ। सीमा विवादलाई लिएर फेरि झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निगरानीलाई थप कडा बनाइएको प्रशासनको भनाइ छ।


सम्बन्धित समाचार