Logo

१० जेठ,काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज मा चालु आर्थिक वर्षमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। नेपाली पर्यटकको वृद्धि भए पनि सार्क र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा भने गिरावट आएको देखिएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगर का अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्म २ लाख २६ हजार ८७६ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

तीमध्ये १ लाख ३७ हजार २४६ जना नेपाली, १३ हजार ९९२ जना सार्क देशका र ७५ हजार ६३८ जना तेस्रो मुलुकका पर्यटक रहेका छन्। गत वर्षको सोही अवधिको तुलनामा कुल पर्यटक संख्या करिब २२ हजारले बढेको हो।

तर विदेशी पर्यटकको अवस्था मिश्रित देखिएको छ। सार्क मुलुक र तेस्रो मुलुक दुवैबाट आउने पर्यटक गत वर्षको तुलनामा घटेका छन्। विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय अस्थिरता, क्षेत्रीय द्वन्द्व तथा यात्रासम्बन्धी असरका कारण विदेशी आगमन प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ।

पर्यटन व्यवसायी हिम्मत पुरी का अनुसार नेपाली पर्यटकको वृद्धि मुख्यतः पारिवारिक घुमघाम संस्कार, सडक पूर्वाधार सुधार र सार्वजनिक बिदा व्यवस्थाका कारण सम्भव भएको हो।

गत वर्षभन्दा यस वर्ष नेपाली पर्यटक करिब ३३ हजारभन्दा बढीले वृद्धि भएको तथ्यांकले देखाएको छ। विशेषगरी कार्तिक, पुस, माघ र वैशाख महिनामा आन्तरिक पर्यटकको चाप उच्च देखिएको छ।

अघिल्लो वर्ष वैशाखमा १० हजार ७८१ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा यस वर्ष सोही महिनामा मात्र १८ हजारभन्दा बढी पर्यटक पुगेका छन्।

राजस्व संकलनतर्फ पनि निकुञ्जले उल्लेख्य आम्दानी गरेको छ। चालु वर्षमा कुल २५ करोड २७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। जसमा सबैभन्दा बढी हिस्सा पर्यापर्यटनबाट आएको छ।

निकुञ्जले नेपाली पर्यटकसँग प्रतिव्यक्ति १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकसँग १ हजार रुपैयाँ र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरेको छ। जिप सफारीका लागि थप शुल्कसमेत लाग्ने व्यवस्था छ।

निकुञ्जमा सौराहा क्षेत्र मुख्य प्रवेशद्वारका रूपमा रहेको छ, जहाँबाट मात्रै यस वर्ष करिब १ लाख ९५ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडा, बाघ, भालु, हात्ती, घडियाल गोही लगायत दुर्लभ वन्यजन्तु अवलोकनका लागि विश्वप्रसिद्ध गन्तव्य मानिन्छ। जिप सफारी र जंगल वाकमार्फत पर्यटकहरूले यहाँ वन्यजन्तु अवलोकन गर्ने गर्छन्।


सम्बन्धित समाचार