११ जेठ, काठमाडौं । अमेरिका र इरानबिच सम्भावित शान्ति सम्झौताको सकारात्मक सङ्केतहरू बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ ।
सोमबार दुवै प्रकारका कच्चा तेलको मूल्य घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको हो । विशेष गरी मध्यपूर्वको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा जारी नाकाबन्दीका कारण तेल आपूर्ति प्रभावित भइरहेका बेला, दुई देशबिचको सकारात्मक वार्ताले लगानीकर्ता र बजारमा उत्साह जगाएको छ। मुख्य मुद्दाहरूमा अझै पनि केही मतभेदहरू कायमै रहे तापनि आपूर्ति व्यवस्था सहज हुने आशाले मूल्य घटाउन मुख्य भूमिका खेलेको छ ।
बजार विश्लेषकहरूका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४ दशमलव ७१ डलर (४ दशमलव ५५ प्रतिशत) ले घटेर ९८ दशमलव ८३ डलरमा झरेको छ । यसै गरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि प्रतिब्यारेल ४ दशमलव ५७ डलर (४ दशमलव ७३ प्रतिशत) ले ओरालो लाग्दै ९२ दशमलव ०३ डलर कायम भएको छ ।
कच्चा तेलको यो मूल्य गत मे ७ तारिख यताकै सबैभन्दा कम हो । गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र इरानबिच शान्ति सम्झौताको समझदारी पत्रका ‘धेरैजसो बुँदामा सहमति’ भइसकेको अभिव्यक्ति दिएपछि बजारमा यो हलचल आएको हो ।
यो प्रस्तावित सम्झौता लागू भएको खण्डमा हाल बन्द रहेको होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ । वर्तमान द्वन्द्व सुरु हुनुअघि विश्वभर आपूर्ति हुने कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को झन्डै २० प्रतिशत हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने गर्थ्यो ।
यद्यपि, केही जटिल मुद्दाहरूमा अझै स्पष्टता आउन बाँकी रहेका कारण अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार मात्रै आफ्ना प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन् ।
एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकले सम्झौता र जलमार्ग खुला गर्ने विषयमा अझै कयौँ भूराजनीतिक जोखिमहरू कायमै रहे तापनि यस सकारात्मक विकासले अल्पकालीन रूपमा तेलको मूल्यमा ठुलो राहत मिल्ने टिप्पणी गरेका छन् ।
अर्कोतर्फ, अन्य बजार विश्लेषकहरूले भने जलमार्ग खुला भए पनि उक्त क्षेत्रबाट तेलको प्रवाह पुरानै लयमा फर्कन र द्वन्द्वका कारण क्षतिग्रस्त भएका तेल तथा ग्यासका भौतिक संरचनाहरू मर्मत हुन अझै केही महिना लाग्न सक्ने अनुमान गरेका छन् ।

















