११ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले देउवाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री देउवा विरुद्ध अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । उक्त कदमविरुद्ध सर्वोच्च पुगेका देउवाले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा हेर्ने कानुनी क्षेत्राधिकार विशेष अदालतको मात्र भएको जिकिर गरेका छन् । काठमाडौँ जिल्ला अदालतलाई यस विषयमा क्षेत्राधिकार नै नभए पनि आफूविरुद्ध गैरकानुनी रूपमा पक्राउ पुर्जी जारी गरिएको दाबी रिट निवेदनमा गरिएको छ ।
देउवाले आफू अनुसन्धान प्रक्रियामा सहयोग गर्न पूर्ण रूपमा मन्जुर रहेको र आफ्नो सम्पत्तिको स्रोत खुलाउन समेत तयार रहेको उल्लेख गर्दै आफूलाई पक्राउ गर्नुपर्ने कुनै वस्तुनिष्ठ कारण र अवस्था नरहेको जिकिर अदालतसमक्ष गरेका छन् । पछिल्लो समय पत्नी आरजु राणा देउवासहित हङकङ प्रस्थान गरेका देउवा हालसम्म काठमाडौँ फर्किएका छैनन् ।
उनी नेपाल नफर्किएपछि विभागले उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाए तापनि इन्टरपोलले हालसम्म त्यस्तो नोटिस भने जारी गरिसकेको छैन ।

















