११ जेठ, काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–६ बेत्रावती बजारबाट प्रहरीले ठुलो परिमाणको अवैध अमेरिकी डलरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशील गुरुङ रहेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेत्रावती बजारमा जाँच गर्ने क्रममा उनलाई डलरसहित फेला पारेको हो ।
काठमाडौँबाट रसुवाको सीमावर्ती बजार टिमुरेतर्फ जाँदै गरेको बा.प्र ०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बसमा सवार गुरुङलाई शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट अवैध विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको झोलाबाट स्रोत नखुलेको ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ, जसको नेपाली बजार मूल्य करिब ६५ लाख ७० हजार ८३० रुपैयाँ हुन आउँछ ।
पक्राउ परेका गुरुङले उक्त विदेशी मुद्राको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले रकमसहित उनलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
उक्त डलर रसुवा नाका हुँदै अवैध रूपमा चीनतर्फ लैजान लागिएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । यस सम्बन्धमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















