११ जेठ, काठमाडौँ । नेपालमा विद्युतीय चुरोट (भेप) को अवैध कारोबार र तस्करी तीव्र रूपमा बढ्दै गएको पाइएको छ ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार विगत तीन आर्थिक वर्षमा देशका विभिन्न सीमा नाका, अन्तर्राष्ट्रिय विमानस्थल तथा सहरी बजारहरूबाट करिब २३ करोड ९१ लाख रुपैयाँ बराबरको ९० हजारभन्दा बढी थान भेप बरामद गरिएको छ । बजारमा यसको अवैध माग बढेसँगै बरामद परिमाण र यसको तस्करीमा संलग्न भई पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या पनि बर्सेनि थपिँदै गएको सुरक्षा निकायले जनाएको छ ।
बर्सेनि बढ्दै ग्राफ र पक्राउ सङ्ख्या
प्रहरीको आर्थिक वर्ष अनुसारको तथ्याङ्क हेर्दा तस्करीको ग्राफ स्पष्ट रूपमा उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ६५ लाख रुपैयाँ बराबरको १९ हजार थान भेप बरामद भई तीन जना पक्राउ परेका थिए ।
त्यसको अर्को वर्ष अर्थात् आव २०८१र८२ मा तस्करी झनै बढेर १२ करोड ६२ लाख २ हजार ५ सय ५ रुपैयाँ बराबरको ४१ हजार ९ सय ९९ थान भेपसहित १३ जना कारोबारी पक्राउ परे । त्यस्तै, चालु आर्थिक वर्ष २०८२र८३ को हालसम्म मात्रै ४ करोड ६४ लाख ९६ हजार १ सय ९१ रुपैयाँ बराबरको २९ हजार ६ सय २१ थान भेप बरामद भइसकेको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले भेप र लागुऔषधजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा कडा गस्ती, निगरानी र कानुनी कारबाही तीव्र पारिएको जानकारी दिएका छन् ।
उत्तरी नाकाहरूमा कडाइ, कोदारी र कोरलामा ठुलो सफलता
विशेष गरी छिमेकी मुलुक चीन र भारतसँग जोडिएका सीमा नाकाहरू भेप तस्करीका मुख्य प्रवेशद्वारका रूपमा देखिएका छन् । हालै मात्र नेपाल-चीन सीमा क्षेत्रका दुई प्रमुख नाका कोदारी र कोरलाबाट ठुलो परिमाणमा भेप बरामद भएको छ ।
जेठ १ गते कोदारी नाकाबाट भन्सार छली लुकाइछिपाइ भित्र्याउँदै गरिएको ५६ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार ६ सय २० थान भेपसहित सिन्धुपाल्चोकका गणेश खड्का र हिमाल खड्कासहित ८ जना पक्राउ परेका थिए ।
त्यसको भोलिपल्ट कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले तिजी पर्वको सार्वजनिक बिदाको मौका छोपी ल्याउँदै गरेका ना ६ ख ४७द्ध३ र ना ५ ख ७९२१ नम्बरका दुई वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएर जाँच गर्दा ५९२ कार्टुन (करिब १ लाख २० हजारभन्दा बढी थान) भेप फेला पारेको थियो, जसमा चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर प्रहरी निरीक्षक सन्तोष बस्यालको टोलीले अनुसन्धान गरिरहेको छ ।
कानुनको धज्जी र आधुनिक शैलीको भ्रम
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सामाजिक सञ्जाल र अनलाइनमार्फत सुर्तीजन्य पदार्थको बिक्री वितरण र विज्ञापन गर्न नपाइने कानुनी व्यवस्था गरे पनि यसको अवैध बजार फस्टाउँदो छ ।
चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा भेपलाई आधुनिक जीवनशैली वा चुरोट छोड्ने कम हानिकारक विकल्पका रूपमा भ्रमपूर्ण ढंगले प्रस्तुत गरिँदा युवा तथा किशोरपुस्ता यसको लतमा फसिरहेका छन् ।
विश्वमै सबैभन्दा बढी भेप उत्पादन गर्ने देश चीन भएकाले नेपाललाई ट्रान्जिट मार्ग बनाएर भारत तथा अन्य मुलुकतर्फ समेत यसको तस्करी हुने गरेको सुरक्षा अधिकारीहरूको आशङ्का छ, जसले गर्दा यसको बहुआयामिक नियन्त्रण राज्यका लागि थप चुनौतीपूर्ण बनेको छ ।

















