१२ जेठ, काठमाडौं । देशका विभिन्न भूभागमा मौसममा आएको परिवर्तनसँगै जल तथा मौसम विज्ञान विभागले आज ९मंगलबार० विशेष सतर्कता अपनाउन चेतावनी जारी गरेको छ ।
विभागका अनुसार आज दिउँसोपछि देशका पाँचवटा प्रदेशका ११ वटा जिल्ला र त्यस आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना देखिएको छ । तराई र आसपासका भूभागमा वायुमण्डलीय प्रभावका कारण अचानक ठुलो हावाहुरी चल्ने स्थिति सिर्जना भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले जोड दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशका झापा र मोरङ जिल्लामा दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । यसैगरी मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषामा पनि हुरीको जोखिम उच्च रहेको छ । बागमती प्रदेशका मकवानपुर र चितवन तथा गण्डकी प्रदेशका नवलपुर र तनहुँ जिल्ला पनि यस प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् । लुम्बिनी प्रदेशको रुपन्देही र त्यस आसपासका क्षेत्रमा समेत तीव्र गतिको हुरी चल्ने अनुमान गरिएको छ ।
यसरी देशका विभिन्न क्षेत्रमा एकैपटक हुरी चल्ने सम्भावना रहेकाले भौतिक क्षति र आवतजावतमा हुन सक्ने अवरोधप्रति विभागले सचेत गराएको छ । पछिल्लो समय मौसममा आएको उतारचढावका कारण कतै वर्षा र हिमपात त कतै अत्याधिक गर्मी बढिरहेका बेला, यी ११ जिल्लामा भने विनाशकारी हुरी चल्न सक्ने भएकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र खुला ठाउँमा यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको छ ।


















