१२ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारद्वारा समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाहरूका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषणा गरिएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको विस्तृत विवरण बाहिर ल्याएको हो । सहकारीहरू संकटमा परेपछि बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अन्तर्गत समितिले ऋणीहरूलाई लक्षित गरी यो कदम चालेको हो ।
कार्यालयमा उपलब्ध भएको ऋण सम्बन्धी पुराना अभिलेख र विवरणका आधारमा यो नामावली तयार पारिएको समितिले स्पष्ट पारेको छ । सार्वजनिक गरिएको सूचीमा कतिपय पुराना ऋणीहरू जसले यसअघि नै आफ्नो ऋण चुक्ता गरिसकेका छन्, तिनीहरूको नाम समेत पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै समितिले त्यस्ता व्यक्तिहरूलाई पर्याप्त प्रमाण र कागजातसहित तत्काल कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । यसले गर्दा वास्तविक ऋणी र ऋण फस्र्योट गरिसकेका व्यक्तिहरू छुट्याउन सहज हुने विश्वास गरिएको छ ।
अर्कातर्फ, हालसम्म पनि सहकारीबाट लिएको ऋण चुक्ता नगरी बसेका ऋणीहरूलाई भने समितिले तत्काल बुद्धनगरस्थित कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व पूरा गर्न कडा निर्देशन दिएको छ । तोकिएको समयसीमा भित्र ऋणको सावाँ तथा ब्याज भुक्तानी नगरेको खण्डमा त्यस्ता ऋणीहरू विरुद्ध प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही अगाडि बढाइने र जायजेथाबाटै भए पनि सरकारी बाँकी सरह रकम असुलउपर गरिने चेतावनी सूचनामा दिइएको छ ।


















