Logo

काठमाडौँ, १२ जेठ । नेपालको कूटनीतिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने प्रयास स्वरूप प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग विशेष संवाद गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा मंगलबार बिहान आयोजित उक्त उच्चस्तरीय सामूहिक छलफलमा काठमाडौँ तथा नयाँ दिल्लीमा रहेका ईयू सदस्य राष्ट्रका गैरआवासीय राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा नेपालको बदलिँदो राजनीतिक तथा आर्थिक परिदृश्य र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थितिका विषयमा सघन संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल सरकारका वर्तमान प्राथमिकताहरू, सुशासनका एजेन्डा र दिगो विकासका लक्ष्यहरूबारे कूटनीतिक नियोगका प्रमुखहरूलाई स्पष्ट रूपमा अवगत गराउनुभएको थियो। त्यसैगरी, नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, वैदेशिक लगानी भित्त्याउने तथा आपसी हित र सहकार्यका विविध पक्षहरूमा वार्ता केन्द्रित भएको थियो। सचिवालयका अनुसार ईयूका प्रतिनिधिहरूले नेपालको विकास प्रयास र कूटनीतिक सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा प्राविधिक तथा आर्थिक सहकार्यलाई अझै फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेयता वैदेशिक सम्बन्ध र कूटनीतिक मर्यादालाई विशेष प्राथमिकता दिँदै आउनुभएको छ। यसअघि गत चैत २५ गते पनि उहाँले नेपालस्थित विभिन्न देशका आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट र अर्थपूर्ण संवाद गर्नुभएको थियो। कूटनीतिक वृत्तमा यो पछिल्लो भेटघाटलाई निकै महत्त्वका साथ हेरिएको छ, जसले नेपालको विकास साझेदारहरूसँगको सम्बन्धलाई थप पारदर्शी, परिपक्व र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार