१२ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. कृष्णहरि बुढाथोकीले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय प्रत्युत्पादक भएको भन्दै यसलाई तत्काल पुनर्विचार गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाथोकीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था अव्यावहारिक र सेवाग्राहीमैत्री नभएको दाबी गर्नुभयो । उहाँले जनसरोकारका प्राथमिक क्षेत्रहरूमा हप्तामा दुई दिन सरकारी कार्यालय ठप्प हुँदा आम नागरिकले सास्ती खेप्नुपरेको भन्दै संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद बुढाथोकीले विद्यालयहरूमा दुई दिन बिदा दिँदा विद्यार्थीहरू बरालिने जोखिम बढेको र निर्धारित समयभित्र पाठ्यक्रम पूरा गर्न शिक्षकहरूलाई धौ–धौ परेको स्थलगत गुनासो संसद्मा राख्नुभयो । शिक्षा क्षेत्र मात्र नभई स्वास्थ्य क्षेत्रमा समेत दुई दिने बिदाले गम्भीर संकट निम्त्याएको उहाँको तर्क थियो। लगातार दुई दिन ओपिडी लगायतका नियमित स्वास्थ्य सेवाहरू बन्द हुँदा दूरदराजका विपन्न नागरिकहरू आकस्मिक र गुणस्तरीय उपचार पाउनबाट वञ्चित भई आर्थिक र शारीरिक मर्कामा परेको उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि सरकारलाई अर्को महत्त्वपूर्ण सुझावसमेत दिनुभयो। ग्रामीण क्षेत्रका सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून हुँदा राज्यको लगानी र प्रतिविद्यार्थी लागत बढ्दै गएको तर्फ औँल्याउँदै उहाँले न्यून विद्यार्थी भएका विद्यालयहरूलाई एकापसमा समायोजन (मर्) गरी ‘आवासीय विद्यालय’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयहरूको सुदृढीकरण र आवासीय सुविधाले मात्रै सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न सकिने भन्दै उहाँले यस्ता योजनाबद्ध कार्यमा ढिलासुस्ती नगर्न सरकारलाई सचेत गराउनुभयो ।


















