Logo

१२ जेठ, काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलहरूले उठाएको माग बमोजिम प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुन निर्देशन (रुलिङ) दिन सभामुख डोलप्रसाद अर्यालले साफ इन्कार गर्नुभएको छ ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलसहितको विपक्षी मोर्चाले प्रधानमन्त्री तत्काल सदनमा आउनुपर्ने र त्यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने भन्दै दबाब बढाएका थिए । तर, विपक्षीको उक्त चौतर्फी दबाबलाई पन्छाउँदै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोलाउने गरी तत्काल कुनै पनि रुलिङ जारी गर्न नसकिने स्पष्ट अडान लिनुभएको हो ।

संसद्‍मा भइरहेको अवरोध र होहल्लाका बीच धारणा राख्दै सभामुख अर्यालले माननीय सदस्यहरूले आफ्नो मुखबाट प्रधानमन्त्री उपस्थित हुने निश्चित मिति घोषणा होस् भन्ने चाहेको आफूलाई राम्रोसँग हेक्का भएको बताउनुभयो । विपक्षी सांसदहरूको यो इच्छालाई स्वभाविक र ‘नेचुरल’ प्रक्रियाको रूपमा चित्रण गर्दै उहाँले प्रधानमन्त्री सदनमा उपस्थित हुने विषय पनि उत्तिकै स्वभाविक रहने तर्क गर्नुभयो ।

रुलिङ गर्न अस्वीकार गर्दै सभामुखले कार्यपालिका प्रमुख आउने मिति तय हुनासाथ आफूले संसद्लाई जानकारी गराउने प्रतिबद्धता मात्र व्यक्त गरेपछि विपक्षी दलहरू थप चिढिएका छन् । सभामुखको जवाफबाट असन्तुष्ट बनेका विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जारी राखेपछि सभामुख अर्यालले अवरोधकै बीच सभाको कार्यसूचीलाई जबर्जस्ती अगाडि बढाउनुभएको छ ।

उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई कार्यसूचीमा रहेको ‘पर्यटन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो ।

विपक्षीको चर्को नाराबाजी र विरोधका बीच विधेयकमाथिको छलफल प्रक्रिया अघि बढेको छ भने सोही क्रममा बोल्दै सत्तापक्षीय रास्वपाका सांसद अशोक कुमार चौधरीले संसद्लाई केवल विरोधको थलो मात्र बनाउन नहुने भन्दै प्रतिपक्षी दलहरूमाथि कडा कटाक्ष समेत गर्नुभएको छ ।


सम्बन्धित समाचार