Logo

१२ जेठ,वीरगञ्ज । बरहथवा नगरपालिका मा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नम्बर २ सुकुमवासी टोल निवासी ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्।

प्रहरीका अनुसार सोमबार बरहथवा नगरपालिका–१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवाइलाका प्रहरी कार्यालय हिरापुर बाट खटिएको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो।

खोजतलासका क्रममा चार जनाको समूहमा रहेका व्यक्तिहरूले प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा प्रहरीले बुद्धीमान घलानलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ भने अन्य व्यक्तिहरू फरार रहेका छन्।

प्रहरीले पक्राउ परेका घलानको खानतलासी गर्दा उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने एक थान फलामको रड, १७५ ग्राम बारुद, ८० थान फलामका गोली तथा फलामको रडका पाँच टुक्रा बरामद गरिएको जनाएको छ।

प्रहरीले पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यसका लागि सर्लाही जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।


सम्बन्धित समाचार