१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म पनि देशको पूँजीगत (विकास) खर्च उल्लेख्य रूपमा बढ्न नसकेको स्वीकार गर्नुभएको छ ।
संघीय संसद्मा आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै उहाँले अर्थतन्त्रका वर्तमान सूचक र चुनौतीबारे सदनलाई विस्तृत जानकारी गराउनुभएको हो । विश्वव्यापी आर्थिक शिथिलताका कारण अन्तर्राष्ट्रिय परिवेशमै आर्थिक वृद्धिदर खुम्चिरहेका बेला नेपालको आर्थिक वृद्धिदर भने ३ दशमलव ८५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण सर्वेक्षणले गरेको अर्थमन्त्रीले बताउनुभयो । यस्तै, चालु आवमा नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
संसद्मा विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले पूँजीगत खर्चमा अपेक्षित सुधार आउन नसके तापनि यस अवधिमा राजस्व संकलनको लयमा भने सकारात्मक सुधार देखिएको दाबी गर्नुभयो ।
उहाँले आन्तरिक स्रोत परिचालन र राजस्व चुहावट नियन्त्रणका प्रयासहरूले प्रतिफल दिन थालेको संकेत गर्नुभएको छ । यस आर्थिक सर्वेक्षणले औंल्याएका कमजोरी, संरचनागत सुधारका आवश्यकता र अर्थतन्त्रका वास्तविक आयामहरूलाई आगामी आर्थिक वर्षको नयाँ बजेटमार्फत ठोस रूपमा सम्बोधन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।


















