१३ जेठ, काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा राजनीतिक भागबन्डा अन्त्य गर्दै खुला प्रतिस्पर्धाको नीति अख्तियार गरेको छ ।
विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार औपचारिक सूचना प्रकाशित गरी योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। समितिले यही जेठ ११ गते स्वीकृत गरेको ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो नयाँ प्रक्रिया अगाडि बढाएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्कमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १६ (क) बमोजिम कुलपतिबाट गठित सिफारिस समितिले उच्च शिक्षाको क्षेत्रमा विशिष्ट अनुभव भएका योग्यतम व्यक्तिहरूलाई निष्पक्ष रूपमा छनोट गर्न कडा मापदण्ड तोकेको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणाली ९मेरिटोक्रेसी० लाई बलियो बनाउन उम्मेदवारहरूको मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ ।
कार्यविधि अनुसार आवेदकमध्येबाट शैक्षिक योग्यता, प्रकाशित अनुसन्धानमूलक लेख, विश्वविद्यालयसम्बन्धी शोधपत्र, प्रस्तुतीकरण र अन्तर्वार्ताको अङ्क जोडी योग्यताक्रमका आधारमा उपलब्ध भएसम्म प्रत्येक पदका लागि तीन(तीन जना उम्मेदवार छनोट गरी नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गरिनेछ। निष्पक्षता कायम गर्न अन्तर्वार्ताका क्रममा अत्यधिक कम वा धेरै अङ्क दिँदा स्पष्ट कारण खुलाउनुपर्ने अनिवार्य व्यवस्था समेत गरिएको छ।
नयाँ कार्यविधिले उपकुलपति र शिक्षाध्यक्ष बन्नका लागि शैक्षिक तथा नैतिक मापदण्ड निकै कडा बनाएको छ । उपकुलपति पदका लागि उम्मेदवारले अनिवार्य रूपमा विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्नेछ भने कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।
यसका साथै उम्मेदवार उच्च नैतिक चरित्र भएको र कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने स्पष्ट सर्त राखिएको छ। आवेदनका साथमा बढीमा ५ हजार शब्दसम्मको विश्वविद्यालयसम्बन्धी शोधपत्र र संस्था सुधारका लागि आफ्नो ४ वर्षे रणनीतिक कार्ययोजना समेत पेस गर्नुपर्नेछ ।
त्यस्तै, कुलसचिव (रजिस्ट्रार) पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर (मास्टर्स) उपाधि प्राप्त गरेको हुनुपर्ने सर्त तोकिएको छ । कुलसचिवका आकांक्षीसँग उच्च शिक्षामा प्राविधिक वा शैक्षिक प्रशासन अथवा अनुसन्धानको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको प्रमाणित अनुभव हुन आवश्यक छ ।
यो पदका लागि पनि आवेदकले विश्वविद्यालयको हित र विकास केन्द्रित रही बढीमा ५ हजार शब्दसम्मको शोधपत्र र आफ्नो ४ वर्षे रणनीतिक कार्ययोजना अनिवार्य रूपमा बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।


















