१६ जेठ,काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष कारबाहीका क्रममा अवैध तथा नियन्त्रित लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, अफिम तथा विभिन्न नियन्त्रित औषधिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–१७ कालधाराबाट ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। त्यस्तै गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित ६२ एम्पुलभन्दा बढी नियन्त्रित औषधि तथा नगद रकमसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् भने सुर्खेतको वीरेन्द्रनगर–१० बसपार्कबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। सल्यानको बागचौर नगरपालिका–२ खरिबोटबाट पनि ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।
मोरङमा विभिन्न स्थानमा गरिएको कारबाहीमा आठ जना पक्राउ परेका छन्। उर्लाबारी र बेलबारी क्षेत्रमा गरिएको अपरेसनमा खैरो हेरोइन, ब्राउनसुगर, ट्रामाडोल, डाइक्लोमाइन, डिजिटल तराजु तथा नगद बरामद गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा एक व्यक्तिको कोठाबाट थप ठूलो परिमाणमा ब्राउनसुगर फेला परेको छ।
त्यसैगरी रूपन्देहीको रोहिणी गाउँपालिका–४ बाट नियन्त्रित लागूऔषधसहित एक जना, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ बाट ब्राउनसुगरसहित दुई जना, बर्दियाको गुलरिया नगरपालिका–८ बाट ब्राउनसुगरसहित चार जना तथा चितवनको खैरहनी नगरपालिका–८ बाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका–८ बाट करिब ५५ किलो गाँजासहित एक जना पक्राउ परेका छन् भने मोटरसाइकलमा सवार अर्का एक व्यक्ति फरार रहेका छन्। फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ बाट अफिमजस्तो देखिने १० किलो १६० ग्राम पदार्थसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




















