१७ जेठ, वीरगञ्ज । मानवीय सेवा र सामाजिक रूपान्तरणको क्षेत्रमा क्रियाशील संस्था उपकार सेवा नेपालले आफ्नो नियमित सेवा कार्यलाई निरन्तरता दिँदै यस महिना पनि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
संस्थाले पर्साको ठोरी गाउँपालिका वडा नम्बर १, भगवाननगरस्थित वृद्धाश्रममा आश्रित रहेका असहाय, अपाङ्ग, सुस्तमनस्थिति भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाहरूको दैनिक जीवनयापन र भरणपोषणका लागि खाद्यान्न सामग्रीहरू उपलब्ध गराएको हो ।
लामो समयदेखि ओझेलमा परेका र संरक्षणविहीन अवस्थामा रहेका नागरिकहरूको सहारा बन्दै आएको उक्त आश्रममा हाल १८ जना आश्रित छन् । उनीहरूको दैनिक छाक टार्न र भान्छा सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले उपकार सेवा नेपालले प्रत्येक महिना खाद्यान्न तथा अन्य जिन्सी सामानहरू प्रदान गर्दै आएको छ ।
सोही नियमित मासिक कार्यक्रम अन्तर्गत संस्थाले यस पटक ३० किलोग्राम दरका २ बोरा चामल, १ बोरा पिठो, १ बोरा सोयाबिन (मस्यौरा), १० किलोग्राम दाल, ४ लिटर खानेतेल र ५ किलोग्राम नुन प्रबन्ध गरेको छ । यसका साथै आश्रमको सरसफाइ र भान्छाका लागि अत्यावश्यक मानिने सर्फ, लुगा धुने साबुन, नुहाउने साबुनसहित धनियाँ, खुर्सानी लगायतका विविध मरमसला र दैनिक उपभोग्य सामग्रीहरू समेत संस्थाले आफ्नै खर्चमा व्यवस्थापन गरेको हो ।
सामग्री हस्तान्तरणका लागि संस्थाले एक परिचयात्मक कार्यक्रमको आयोजना गरी आश्रमका व्यवस्थापकीय सदस्यहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई आमन्त्रण गरेको थियो। आयोजित विशेष कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र प्रखर सामाजिक अभियन्ता प्रकाश थारूले संयुक्त रूपमा ती सामग्रीहरू आश्रमका प्रतिनिधिहरूलाई हस्तान्तरण गरे ।
सामग्री बुझ्दै आश्रमका प्रतिनिधिहरूले बजारको महँगी र आर्थिक स्रोतको अभाव झेलिरहेको समयमा उपकार सेवा नेपालले प्रत्येक महिना घरमै बोलाएर वा आश्रममै पुगेर दिँदै आएको यो सहयोगले आश्रम सञ्चालनमा ठूलो राहत मिलेको भन्दै खुसी व्यक्त गरे ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले समाजमा रहेका असहाय, उत्पीडित र राज्यको पहुँचभन्दा टाढा रहेका बुवाआमा तथा बालबालिकाहरूको सेवा गर्न पाउनु नै संस्थाको मुख्य धर्म भएको उल्लेख गर्दै यो मानवीय सहयोगको शृङ्खला आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।




















