१७ जेठ, काठमाडौं । नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि काठमाडौं भ्रमणमा आएकी उनी हालसम्मकै उच्च पदस्थ अमेरिकी अधिकारी हुन्, जसले दुई देशबीचको विद्यमान सम्बन्धमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
काठमाडौं ओर्लिएलगत्तै उपविदेशमन्त्री रोजर्स व्यस्त देखिएकी छन् । भ्रमणको पहिलो दिन नै उनले होटल अलाफ्टमा जारी ‘एसेन्ट समिट’मा प्रमुख अतिथिको रूपमा सहभागिता जनाएकी छिन् ।
समिटमा उनको उपस्थिति र सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ, जहाँ उनले सार्वजनिक कूटनीति र आपसी सहकार्यका विभिन्न आयामहरूमा आफ्ना धारणा राख्ने छिन्। रोजर्सको यो भ्रमणले दुई मुलुकबीचको रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।




















