१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । यसै क्रममा, नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीको सो भनाइलाई ‘राष्ट्रघाती’ को संज्ञा दिँदै कडा आपत्ति जनाएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनी दिएको दाबीप्रति नेकपाले औपचारिक रूपमा असहमति प्रकट गरेको हो । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको ठहर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रमा वर्षौंदेखि गर्दै आएको एकतर्फी अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी प्रधानमन्त्रीबाटै यस्तो अभिव्यक्ति आउनु गम्भीर राष्ट्रघात हो ।’
‘भोगचलनलाई कब्जा भन्न मिल्दैन’
नेकपाले सीमावर्ती क्षेत्रका नागरिकको जग्गा–जमिन दुवैतर्फ पर्नुलाई कब्जा भन्न नहुने स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धि र ऐतिहासिक सीमा स्तम्भहरूका आधारमा निर्धारण भएको सीमारेखाका कारण सीमावर्ती नागरिकको खेतीयोग्य जमिन दुवैतर्फ पर्नुलाई भोगचलन भनिन्छ, यसलाई कब्जा भन्नु गलत र संविधानको मर्मविपरीत छ ।
प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार हुने गरी दिएको अभिव्यक्तिले राष्ट्रिय अस्मितालाई कमजोर पारेको पार्टीको निष्कर्ष छ ।
कूटनीतिक समाधानको माग
नेकपाले नेपाल–भारत सीमा विवादलाई दुई देशबीचको कूटनीतिक संयन्त्रमार्फत मात्रै हल गर्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिले कूटनीतिक पहललाई समेत नकारात्मक असर पार्ने भन्दै पार्टीले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।




















