१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादको विषयमा संसद्मा दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि विपक्षी दलहरूले साझा रणनीति तय गर्न बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलका शीर्ष नेताहरूको बैठक जारी छ । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे कूटनीतिक पहल गर्ने सन्दर्भमा गरेको टिप्पणीले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
उनले संसद्मा भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’ प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई विपक्षी दलहरूले राष्ट्रिय हित र सीमा सुरक्षाको गम्भीरतामाथि प्रहारको रूपमा अथ्र्याएका छन् ।
आजको बैठकमा सहभागी विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘गैरजिम्मेवार’ ठहर गर्दै त्यसलाई तुरुन्तै संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गर्नेछन् ।
बैठकको उद्देश्यबारे जानकारी दिँदै कांग्रेस सचेतक निश्कल राईले भने, “प्रधानमन्त्रीको अभिव्यक्ति र यसले निम्त्याएको समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बसेको हो ।”




















