१८ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमै सुरु हुन नसक्दा संघीय संसद्को कामकारबाही प्रभावित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टाभन्दा बढी ढिला हुँदासमेत सञ्चालन हुन सकेको छैन।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्ने निर्णय गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको आरोप लगाउँदै त्यसबारे संसद्मा स्पष्टिकरण र माफीको माग गरेका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर माफी नमागेसम्म र विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएका छन्। यसका कारण बैठक प्रारम्भ हुन नसकेको बताइएको छ।
यसअघि आइतबार पनि प्रतिनिधिसभामा चर्को विरोधका बीच बैठक सञ्चालन भएको थियो। विपक्षी सांसदहरूले वेल घेराउ गरे पनि सभामुखले कार्यसूचीलाई अघि बढाएका थिए। विरोधकै बीच राति करिब १० बजे बहुमतका आधारमा सम्बन्धित विधेयक पारित भएको घोषणा गरिएको थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षबीचको विवाद थप चर्किँदै गएको छ। सदनको गतिरोध अन्त्य गर्न दलहरूबीच छलफल जारी रहे पनि समाचार तयार पार्दासम्म कुनै सहमति जुट्न सकेको छैन।




















