Logo

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा व्यक्त गरेको नेपालले पनि ‘भारतीय भूमि मिचेको’ विवादास्पद भनाइको असर राष्ट्रिय सभामा पनि देखिएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कडा विरोध जनाउँदै संसद् अवरुद्ध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको कारबाही अगाडि बढाउने प्रयास गरे पनि विपक्षीहरूको विरोधका कारण संसद् चल्न सकेन ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले संसद्मा दिएको उक्त ‘गैरजिम्मेवार’ अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट नहटाएसम्म र स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् । प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत र आधारहीन भएको भन्दै उनीहरूले संसद् अवरुद्ध गरेका हुन् ।

विपक्षीको निरन्तर विरोधपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक २० मिनेटका लागि स्थगित गर्न बाध्य भएका छन् ।  आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारतीय जमिन मिचेको र कूटनीतिक पहलबाट समाधान खोज्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सोही भनाइलाई लिएर यतिबेला दुवै सदनमा राजनीतिक तनाव चुलिएको छ  ।


सम्बन्धित समाचार