१८ जेठ,वीरगञ्ज । भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई स्वदेश फिर्ता गराएर परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको माइती नेपाल वीरगञ्ज आवधिक गृहले जनाएको छ।
गृह प्रमुख गोमा पौडेलका अनुसार भारतको बिहारस्थित बाल कल्याण समितिको आदेश तथा नेपाली दूतावास नयाँ दिल्लीको समन्वयमा महोत्तरी र बाराका दुई किशोरीलाई वीरगन्ज ल्याइएको हो। उद्धार गरिएकामध्ये एक जना महोत्तरीको औरही नगरपालिका–२ की १७ वर्षीया र अर्की बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ की १६ वर्षीया किशोरी हुन्।
प्राप्त जानकारीअनुसार दुवै किशोरी करिब एक वर्षअघि फरक–फरक समयमा साथीहरूको प्रभावमा परेर घर छाडेर भारत पुगेका थिए। महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा परी भारतको छपरा पुगेकी थिइन्। उनलाई धार्मिक स्थल घुमाउने तथा राम्रो आम्दानी हुने काम दिलाइदिने आश्वासन दिइएको थियो।
त्यसैगरी बाराकी किशोरी गाउँकै साथीसँग भारतको बिहारस्थित छपरा पुगेकी थिइन्। होटलमा काम गरिरहेकी उनलाई बढी आम्दानी हुने भन्दै विवाह तथा सांगीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरिएको थियो।
दुवै किशोरी भारतमा गैरकानुनी रूपमा सञ्चालन हुने नृत्य समूह ‘अर्केस्ट्रा’ सम्बन्धी गतिविधिमा संलग्न स्थानमा पुगेपछि भारतीय प्रहरीको निगरानीमा परेका थिए। त्यसपछि उनीहरूलाई बिहारको बाल संरक्षण गृहमा राखिएको थियो।
नेपाली दूतावास, भारतीय बाल कल्याण समिति तथा माइती नेपालको समन्वयमा उद्धार गरिएका किशोरीहरूको पारिवारिक पुनर्मिलनको प्रक्रिया अघि बढाइएको छ। सरोकारवाला निकायहरूले किशोर–किशोरीलाई प्रलोभनमा पारेर भारत लैजाने घटनाप्रति सचेत रहन अभिभावक र समुदायलाई आग्रह गरेका छन्।




















