१८ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै शाहीले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति गम्भीर विषयसँग सम्बन्धित रहेको उल्लेख गर्दै शाहीले अनुमान र भावनाका आधारमा राज्य सञ्चालन हुन नसक्ने धारणा राखे। उनले प्रधानमन्त्रीलाई आफ्नो भनाइ पुष्टि गर्ने प्रमाण सार्वजनिक गर्न आग्रह गरे।
“अनुमानको आधारमा राष्ट्र चल्दैन, भावनाको आधारमा चल्दैन। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको प्रमाण पेस गर्नुपर्छ,” शाहीले भने।
उनले संसद् कुनै चिया पसल नभएको उल्लेख गर्दै तथ्यविहीन अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन समेत माग गरे। “प्रधानमन्त्रीले तथ्यबिना बोलेका रेकर्ड हटाउन माग गर्दछु। यो चिया पसल होइन। नेपालले भारतको सीमा मिचेको कुरा प्रमाणित गर्न आग्रह गर्दछु,” उनले भने।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा विवाद चर्किएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीसँग माफी र स्पष्टिकरणको माग गरिरहेका छन्।




















