Logo

१८ जेठ,काठमाडौं ।  श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूले सोधेको प्रश्नका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै आत्मग्लानि व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति केवल संसद्को अभिलेखबाट हटाएर मात्र नपुग्ने, सदनमै उपस्थित भएर माफी माग्नुपर्ने धारणा राखे।

लिपुलेक–लिम्पियाधुरा सम्बन्धी आफूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको उल्लेख गर्दै राईले त्यसप्रति गम्भीर आपत्ति जनाए। उनले प्रधानमन्त्रीबाट तथ्यहीन र भ्रामक जवाफ आउने अपेक्षा नगरेको बताए।

“यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ। मलाई आत्मग्लानि भइरहेको छ,” राईले संसद्मा भने।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको केही भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि संसद् र राजनीतिक वृत्तमा तीव्र विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिको विरोधमा विभिन्न राजनीतिक दलहरूले प्रधानमन्त्रीसँग माफी माग्न र अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै आएका छन्।

सांसद राईको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि व्यक्त गर्ने क्रम थप तीव्र बनेको संकेत गरेको छ।


सम्बन्धित समाचार