Logo

१८ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाणसहित स्पष्ट जवाफ दिन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्तिले आफू मात्र नभई सम्पूर्ण नेपालीको शिर निहुरिएको महसुस भएको बताए। उनले संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरे।

“प्रधानमन्त्रीले संसद्मा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको छ भन्नुभयो। यो अभिव्यक्ति संसद्को रेकर्डमा रहेको छ र नजिरका रूपमा स्थापित भएको छ,” राईले भने।

प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्ता पक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। उनले उक्त अभिव्यक्तिप्रति विपक्षी दलको औपचारिक असहमति रहेको स्पष्ट पारे।

राईले प्रधानमन्त्री पुनः संसद्मा उपस्थित भएर आफ्नो भनाइको आधार र प्रमाण प्रस्तुत गर्नुपर्ने माग गरे। “नेपालले कहाँ–कहाँ भारतको भूमि मिच्यो, एक–एक इन्चको हिसाब दिनुपर्छ। हामीलाई हिसाब चाहिन्छ। यो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षाको विषय हो,” उनले भने।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालले भारतसँग उठाउँदै आएको सीमा सम्बन्धी दाबीलाई समेत कमजोर बनाउने तर्क गरे। “यस्तो अभिव्यक्तिले नेपाल पनि सीमा अतिक्रमणकारी राष्ट्र हो भन्ने सन्देश जान्छ, जसले नेपालको स्थापित अडानलाई कमजोर बनाउँछ,” उनले बताए।

त्यसैगरी प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणप्रति पनि राईले प्रश्न उठाए। सीमा अतिक्रमण र सीमापार अतिक्रमण (क्रस बोर्डर अकुपेसन) फरक विषय भएको उल्लेख गर्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताए।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा विवाद चर्किएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्ति फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग गर्दै आएका छन्।


सम्बन्धित समाचार