Logo

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा तीव्र आक्रोश पोखिएको छ ।

प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा व्यक्त गरेको ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भनाइको विरोधमा उत्रिएका सांसदहरूले सोमबार राजीनामाको माग गर्दै नाराबाजी गरेका छन् । सोमबार दोस्रो पटक सुरु भएको राष्ट्रिय सभाको बैठकमा विपक्षी दलका सांसदहरू एकैसाथ उठेर विरोध जनाएका थिए ।

प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको र यसले देशको सार्वभौमसत्तामाथि प्रश्न उठाएको भन्दै सांसदहरूले माफी माग्नुपर्ने अडान राखेका थिए । बैठक सुरु हुनासाथ सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै वेल घेराउ गरी चर्को नाराबाजी सुरु गरेपछि सदनको वातावरण निकै तनावपूर्ण बनेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको कामकारबाहीलाई व्यवस्थित बनाउन र शान्त हुन पटक(पटक सांसदहरूलाई आग्रह गरे पनि विपक्षी सांसदहरूले आफ्ना मागबाट पछि हटेनन् । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म सदन चल्न नदिने अडानमा सांसदहरू रहेपछि अध्यक्ष दाहाल बैठक स्थगित गर्न बाध्य भएका थिए ।

सांसदहरूको निरन्तरको नाराबाजी र विरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक अब जेठ १९ गते मंगलबार दिउँसो १ः१५ बजेका लागि तोकिएको छ ।

सीमाजस्तो संवेदनशील विषयमा कार्यकारी प्रमुखबाट आएको यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले राजनीतिक वृत्तमा थप तरङ्ग पैदा गरेको छ ।


सम्बन्धित समाचार