Logo

१८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रहित विपरीत’ भन्दै कडा आपत्ति जनाएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीको पछिल्लो भनाइले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै प्रश्न उठाएको बताएका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले ुनेपालले पनि भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले भने, “नेपालको सार्वभौमिकता र राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको विचार निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यसको पूर्ण रूपमा विरोध गर्दछ।”

महामन्त्री थापाले सीमा विवाद दुई देशबीचको कूटनीतिक र ऐतिहासिक प्रमाणका आधारमा टुङ्गिनुपर्ने विषय भएको स्पष्ट पारे । उनले थपे, “हरेक देशका आफ्ना अडान हुन्छन्, जसको पछाडि ऐतिहासिक प्रमाणहरू हुन्छन् । तर, प्रधानमन्त्रीको यो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले ती अडानहरूलाई कमजोर बनाउने काम गरेको छ ।”

छिमेकी मुलुकसँग कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने ढोका खुला रहेको सन्दर्भमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले नेपालको कूटनीतिक हैसियतलाई नै धराशायी बनाएको थापाको टिप्पणी छ । देशको कार्यकारी प्रमुखबाटै यस्तो विवादास्पद भनाइ आउनुले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै उनले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका थापाको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा थप बहस र तरङ्ग पैदा गरेको छ ।


सम्बन्धित समाचार