१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल तरुण दलले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले राष्ट्रियतामाथि चोट पुगेको र देशको स्वाभिमानमा आँच आएको भन्दै तरुण दलका कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् । सोमबार दिउँसो माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए ।
प्रधानमन्त्रीको भनाइप्रति अहिले चौतर्फी आलोचना भइरहेको छ र संसद्देखि सडकसम्म नै उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग जोडतोडका साथ उठिरहेको छ । सीमा जस्तो संवेदनशील विषयमा कार्यकारी प्रमुखबाटै यस्तो गैरजिम्मेवारपूर्ण टिप्पणी आउनु दुःखद भएको भन्दै प्रदर्शनकारीहरूले प्रधानमन्त्री विरुद्ध कडा आक्रोश पोखेका छन् ।




















