Logo

१८ जेठ,दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

सोमबार दिउँसो भैरबी गाउँपालिका–७ कालगौंडीमा सुप०१००१ च ४९६४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई जिल्ला अस्पताल दैलेखमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा जिप चालक कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३५ वर्षीय कलबहादुर रोकाय, सोही ठाउँका ३९ वर्षीय मित्र सुनार र शुभकालिका–६ की ६० वर्षीया पुल्तिसरा बिक रहेका छन्।

दुर्घटनापछि घाइते अन्यको उपचार भइरहेको छ। गम्भीर घाइते भएकामध्ये शुभकालिका–४ की ४५ वर्षीया नैन सुनार र वडा नम्बर–६ का २७ वर्षीय सुमत बिकलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार बिकले जानकारी दिएका छन्।

त्यस्तै अन्य तीन घाइतेको जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार