१९ जेठ, काठमाडौं । प्रतिनिधिसभामा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
पछिल्ला केही दिनयता संसदमा उत्पन्न गतिरोध र आफ्नै अभिव्यक्तिले निम्त्याएको तरंगबीच प्रधानमन्त्री शाहले आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् ।
गत आइतबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । प्रधानमन्त्रीको उक्त भनाइप्रति सत्तारूढ र विपक्षी दुवै खेमाका नेताहरूले कडा आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । सोही विवादास्पद अभिव्यक्तिका कारण संघीय संसद्का बैठकहरू समेत प्रभावित हुँदै आएका छन् ।
मन्त्रिपरिषद् बैठक बोलाइएको भए पनि छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक गरिएको छैन । यद्यपि, संसदमा देखिएको गतिरोधको निकास, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि भइरहेको आलोचना र समसामयिक राजनीतिक परिस्थितिका विषयमा बैठकमा गम्भीर छलफल हुने अनुमान गरिएको छ ।
आफ्नै अभिव्यक्तिले रक्षात्मक अवस्थामा पुगेका प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्मार्फत कसरी अगाडि बढ्ने रणनीति तय गर्छन्, त्यो अहिले चासोको विषय बनेको छ ।




















