१९ जेठ, वीरगञ्ज । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको मुद्दा पर्सा जिल्ला अदालतमा प्रवेश गरेको छ ।
जिल्ला अदालत पर्साका मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको उक्त मुद्दामा आजैबाट न्यायिक प्रक्रिया सुरु भएको छ ।
अदालतका स्रेस्तादार प्रभाकर मल्लिकका अनुसार मुद्दाको प्रारम्भिक प्रक्रिया अन्तर्गत अब मेयर सिंहको बयान लिने काम अगाडि बढाइनेछ। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । कानुन व्यवसायीहरूको बहस सुनिसकेपछि अदालतले मेयर सिंहलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने विषयमा अन्तिम आदेश दिनेछ ।
पर्सा प्रहरीले पक्राउ गरेलगत्तै मेयर सिंहलाई आजै अदालतमा हाजिर गराएको थियो । महानगरका प्रमुख आफैँ कानुनी झमेलामा परेपछि वीरगन्जको स्थानीय राजनीति र प्रशासनिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ । अब अदालतले दिने आदेशले मेयर सिंहको आगामी यात्रा निर्धारण गर्नेछ ।




















