२५ जेठ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक आधारस्तम्भ एवं उद्गमस्थल मानिने चितवन जिल्लाको नेतृत्वमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित भएका छन् । भरतपुरमा आइतबार अबेर राति सम्पन्न सो पार्टीको प्रथम जिल्ला अधिवेशनको मतपरिणाम अनुसार निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषाललाई दोब्बरभन्दा बढी मतको फराकिलो अन्तरले पाखा लगाउँदै खनाल नयाँ सभापतिमा विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार नवनिर्वाचित सभापति खनालले २२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी भुषालले १११ मत मात्रै ल्याउन सके। सभापति पदका अर्का प्रत्यासी प्रकाश आचार्यले भने जम्मा २२ मत मात्रै प्राप्त गरे ।
नयाँ कार्यसमितिको उपसभापति पदमा निर्मला गिरी १९० मतका साथ विजयी भएकी छन् । सोही पदका अन्य प्रतिस्पर्धीहरू टिकादत्त इटनीले ८४ र प्रभाकर जोशीले ७३ मत मात्रै प्राप्त गरे ।
यसै गरी, जिल्ला सचिव पदमा तेजेन्द्र पौडेल १९४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेत्र लामिछानेले १४५ मतमा चित्त बुझाउनुपर्यो । सर्वाधिक चासोका साथ हेरिएको सहसचिव पदमा चार जना प्रतिस्पर्धी मैदानमा उत्रिएकामा कुशल पाठक १८७ मत ल्याएर निर्वाचित भए । सहसचिवका अन्य प्रतिस्पर्धीहरू चुमबहादुर जिसीले ३७, पार्वती पाण्डेले ६९ र वेदप्रसाद आचार्यले ५४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
रास्वपाको राजनीतिक उदय र शक्ति सञ्चयका दृष्टिकोणले चितवन जिल्लालाई सो पार्टीको सबैभन्दा बलियो गढ मानिन्छ । पार्टी सभापति रवि लामिछाने यहीँको चितवन क्षेत्र नं. २ बाट तीन पटकसम्म भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् । यसैगरी चितवन क्षेत्र नं. ३ बाट विजयी भएकी रास्वपाकी युवा नेत्री सोविता गौतम अहिले वर्तमान सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको महत्त्वपूर्ण जिम्मेवारीमा छिन् ।
नवगठित कार्यसमितिले जिल्लाको कमाण्ड सम्हालेलगत्तै रास्वपाको बहुप्रतीक्षित केन्द्रीय महाधिवेशनको तयारीमा जुट्नुपर्नेछ । रास्वपाको ऐतिहासिक पहिलो केन्द्रीय महाधिवेशन पनि यही आगामी असार ६ र ७ गते चितवनमै भव्य रूपमा आयोजना हुँदैछ ।

















