Logo

२५ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले निजी विद्यालयहरूको मनपरीमाथि कडा निगरानी थालेपछि आठ वटा संस्थागत विद्यालयमा गम्भीर अनियमितता फेला परेको छ। स्थलगत अनुगमनका क्रममा कतिपय विद्यालयले स्वीकृतिभन्दा माथिल्ला कक्षा सञ्चालन गरेको, कतिपयले अन्य विद्यालयका विद्यार्थीलाई आफ्नो इमिस प्रणालीमा दर्ता गरेको तथा एक विद्यालयले अनुमति नै नलिई कक्षा सञ्चालन गरेको पाइएको छ।

उपमहानगरपालिकाको शिक्षा शाखाले गरेको अनुगमनपछि नगर कार्यपालिकाको कार्यालयले विशेष सूचना जारी गर्दै सम्बन्धित विद्यालयहरूलाई तत्काल आफ्नो गतिविधि सच्याउन निर्देशन दिएको हो। उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादद्वारा जारी सूचनामा शैक्षिक प्रशासनमा अव्यवस्था सिर्जना गर्ने, अभिभावकलाई भ्रममा पार्ने तथा सरकारी अभिलेखमा गलत विवरण प्रविष्ट गर्ने कार्यलाई गम्भीर रूपमा लिइएको उल्लेख छ।

पालिकाका अनुसार केही विद्यालयले आफूले पाएको स्वीकृतिको सीमा नाघेर माथिल्ला कक्षाहरू सञ्चालन गरिरहेका छन् भने केहीले अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको विवरण आफ्नो विद्यालयको इमिस प्रणालीमा प्रविष्ट गरी विद्यार्थी संख्या बढाएर देखाउने प्रयास गरेका छन्। यस्तो कार्यले शिक्षा क्षेत्रको तथ्यांक प्रणालीलाई नै प्रभावित बनाउने भएकाले यसलाई गम्भीर उल्लङ्घनका रूपमा हेरिएको उपमहानगरपालिकाको भनाइ छ।

अनुगमनका क्रममा रामनगरस्थित एडभान्स ई बोर्डिङ स्कुल ले कक्षा ५ सम्मको मात्र अनुमति हुँदाहुँदै कक्षा ६, ७ र ८ सञ्चालन गरेको भेटिएको छ। त्यसैगरी उचिडीस्थित मिसन एकेडेमी ले उक्त विद्यालयका विद्यार्थीहरूलाई आफ्नो इमिस प्रणालीमा दर्ता गरेको पाइएको छ।

रजघट्टास्थित डुमरवाना पब्लिक बोर्डिङ स्कुल ले कक्षा ९ सम्मको अनुमति पाएको भए पनि कक्षा १० सञ्चालन गरिरहेको भेटिएको छ भने जीतपुरस्थित अम्ब्रेला एकेडेमी ले डुमरवानाका विद्यार्थीहरूलाई आफ्नो इमिसमा समावेश गरेको पाइएको छ।

त्यस्तै, सिमराको न्यू होराइजन बोर्डिङ स्कुल ले कक्षा ३ सम्मको स्वीकृति हुँदाहुँदै कक्षा ४ र ५ सञ्चालन गरेको, अमलेखगञ्जस्थित नाइट एन्जल बोर्डिङ स्कुल ले कक्षा ७ सम्मको अनुमति लिएर कक्षा ८, ९ र १० सञ्चालन गरेको तथा लिटिल एन्जल बोर्डिङ स्कुल ले कक्षा ५ सम्मको स्वीकृतिमा कक्षा ६ र ७ सञ्चालन गरेको पाइएको छ।

सबैभन्दा गम्भीर अवस्था चकरीस्थित आदर्श किड्स ल्यान्ड मा देखिएको छ। उक्त संस्थाले सञ्चालन अनुमति नै नलिई बालविकास कक्षा सञ्चालन गरिरहेको भेटिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले ती सबै विद्यालयलाई जेठ २७ गतेभित्र स्वीकृतिप्राप्त कक्षामा मात्र विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र सुधार नगरे वा पुनः यस्तै गतिविधि दोहोरिए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएर विद्यालयको इजाजत नै खारेज गर्न सकिने चेतावनी दिइएको छ।

यससँगै उपमहानगरपालिकाले २४ वटै वडा कार्यालयलाई आफ्नो क्षेत्रभित्र अनुमति बिना कक्षा सञ्चालन भएका छन् वा छैनन् भन्ने विषयमा निगरानी बढाउन र नियमित प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

शिक्षा क्षेत्रमा बढ्दो व्यावसायीकरण र विद्यार्थी संख्या देखाएर प्रतिस्पर्धा गर्ने प्रवृत्तिमाथि स्थानीय सरकारको यो कदमलाई शैक्षिक सुशासन स्थापनाको प्रयासका रूपमा हेरिएको छ। अभिभावकलाई आकर्षक प्रचार र भ्रामक जानकारी दिएर विद्यार्थी भर्ना गर्ने अभ्यासमाथि अंकुश लगाउन उपमहानगरपालिकाले अब थप कडा निगरानी र अनुगमनलाई निरन्तरता दिने संकेत दिएको छ।


सम्बन्धित समाचार
भर्खरै