२५ जेठ, चितवन । चितवन प्रहरीले अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत आइतबार विभिन्न मुद्दामा सजाय सुनाइएका १५ जना फरार प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन जिल्ला अदालतले विभिन्न समयमा सुनाएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइबाट परिचालित संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये लागूऔषधसम्बन्धी मुद्दाका प्रतिवादीको संख्या सबैभन्दा बढी छ। प्रहरीले ६ जना लागूऔषध मुद्दाका दोषीलाई पक्राउ गरेको छ। त्यस्तै चोरी मुद्दाका ६ जना, चेक अनादर मुद्दाका २ जना तथा डाँका मुद्दाका १ जना प्रतिवादीलाई समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतले यसअघि नै कैद तथा जरिवानाको सजाय सुनाइसकेको थियो। लागूऔषध मुद्दाका प्रतिवादीबाट सात महिनाको कैद र ९ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो भने डाँका मुद्दाका प्रतिवादीबाट ६ महिनाको कैद र ५ हजार रुपैयाँ जरिवाना कार्यान्वयन हुन बाँकी रहेको थियो।
यस्तै, चोरी मुद्दाका दोषीहरूबाट ११ दिनको कैद तथा ४ हजार रुपैयाँ जरिवाना र चेक अनादर मुद्दाका दोषीहरूबाट ६ हजार रुपैयाँ जरिवाना उठ्न बाँकी रहेको प्रहरीले जनाएको छ।
समग्रमा पक्राउ परेका १५ जना प्रतिवादीबाट १ वर्ष १ महिना ११ दिन कैद सजाय तथा २६ हजार रुपैयाँ जरिवाना कार्यान्वयन हुन बाँकी रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभूषण यादवका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी चितवन जिल्ला अदालतमा पेश गरिएको छ।
चितवन प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ। कानुनी शासनको प्रत्याभूति र न्यायिक निर्णयको सम्मान सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता अभियान थप सशक्त रूपमा सञ्चालन गरिने प्रहरीको भनाइ छ।

















