२७ जेठ, काठमाडौं । विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न रहेको आरोपमा दाङका एक वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेशकुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र स्थानीय आलम जोल्हालाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आलम जोल्हालाई गैरनेपाली नागरिक हुँदाहुँदै पनि झुट्टा विवरण पेश गरी नेपाली नागरिकता दिलाइएको रहस्य खुलेको छ । उनीहरूले सनाउल्ला जोल्हाको छोराका रूपमा आलमलाई खडा गरी कीर्ते सिफारिसमार्फत नागरिकता दिलाएका थिए । आश्चर्यजनक त के छ भने, जसको नामबाट छोरा देखाइएको छ, तिनै सनाउल्ला जोल्हाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
अहिले पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ । जनप्रतिनिधि र कर्मचारीको सक्रिय संलग्नतामा राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा गरिएको यस प्रकारको लापरबाही र कीर्ते कार्यले स्थानीय प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ । दोषी ठहरिएकाहरू विरुद्ध नागरिकतासम्बन्धी प्रचलित कानुनअनुसार कडा कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ ।

















