Logo

 २७ जेठ,काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० वरीयतामा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले उल्लेखनीय सुधार गरेका छन्। विशेषगरी अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीले आफ्नो करियरकै उत्कृष्ट रेटिङ प्राप्त गर्दै चौथो स्थानमा उक्लिएका छन्।

आईसीसीको पछिल्लो विवरणअनुसार दीपेन्द्रले २५६ रेटिङ अंकसहित चौथो स्थान हासिल गरेका हुन्। यसअघि उनी अलराउन्डर वरीयतामा दोस्रो स्थानसम्म पुगे पनि हालको रेटिङ उनका लागि अहिलेसम्मकै उच्च मानिएको छ।

अलराउन्डर वरीयतामा जिम्बावेका सिकन्दर राजा शीर्ष स्थानमा छन् भने भारतका हार्दिक पान्ड्या दोस्रो र पाकिस्तानका सइम अयुब तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै टी–२० ब्याटिङ वरीयतामा पनि नेपाली खेलाडी कुशल भुर्तेलले सुधार गरेका छन्। उनी ६ स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिएका छन्। ब्याटिङ वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष स्थानमा छन् भने ईशान किशन दोस्रो र पाकिस्तानका शाहिबजादा फरहान तेस्रो स्थानमा रहेका छन्।

बलिङ वरीयतामा पनि नेपाली खेलाडी सन्दीप लामिछानेले प्रगति गरेका छन्। उनी ९ स्थान सुधार गर्दै ४९औँ स्थानमा पुगेका छन्। त्यस्तै दीपेन्द्रसिंह ऐरी बलिङ वरीयतामा १५ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिएका छन्।

बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् भने भारतका वरुण चक्रवर्ती दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा रहेका छन्।

आईसीसी वरीयतामा नेपाली खेलाडीहरूको निरन्तर सुधारले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति थप मजबुत बन्दै गएको संकेत गरेको छ।


सम्बन्धित समाचार