Logo

२७ जेठ, काठमाडौं । नेपालको सार्वभौमिकता र सीमा सुरक्षाको विषयमा नेपालीहरू पहिलोपटक गम्भीर रूपमा विभाजित हुनुपरेको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चिन्ता व्यक्त गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमालले राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा नेपालीहरू सधैँ एक ढिक्का रहँदै आएकोमा प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय एकतामै दरार पैदा गरेको आरोप लगाए ।

सांसद हमालले जेठ १७ गते संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री शाहले दिएको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ को संज्ञा दिए। उनले भने, ‘हामी हाम्रो सीमा र भौगोलिक अखण्डताको विषयमा छलफल गर्न बाध्य छौँ, त्यो पनि विभाजित भएर। इतिहासमै पहिलोपटक सीमा र राष्ट्रियताको सन्दर्भमा नेपालीहरू यसरी बाँडिनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद छ ।’

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले मुलुकको स्वाभिमानमा चोट पुर्‍याएको जिकिर गर्दै सांसद हमालले प्रधानमन्त्रीले नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने र सो विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने माग दोहोर्‍याए ।

सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको असंवेदनशील टिप्पणीले सिर्जना गरेको यस विभाजनले राष्ट्रिय राजनीतिमा गम्भीर प्रश्न उब्जाएको भन्दै उनले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको अपेक्षा गरेका छन् ।


सम्बन्धित समाचार