Logo

 २७ जेठ,काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले भारतमा आफ्नो पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर स्थापना गर्ने भएको छ। यसका लागि मेटाले भारतको प्रमुख उद्योग समूह रिलायन्स इन्डस्ट्रिजसँग साझेदारी गरेको छ।

सम्झौताअनुसार डाटा सेन्टर गुजरातको जामनगरमा निर्माण गरिनेछ। प्रारम्भिक पूर्वाधार निर्माणको जिम्मा रिलायन्स इन्डस्ट्रिजले लिनेछ भने मेटाले यसलाई आफ्नो एआई प्रणाली सञ्चालनका लागि प्रयोग गर्नेछ।

यो डाटा सेन्टरको प्रारम्भिक क्षमता १६८ मेगावाट रहनेछ भने भविष्यमा विस्तार गर्ने योजना रहेको जनाइएको छ। परियोजना आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

मेटाले यसलाई फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप जस्ता आफ्नो प्रमुख प्लेटफर्महरूलाई समर्थन गर्ने एआई पूर्वाधारका रूपमा प्रयोग गर्नेछ। साथै, यो परियोजना कम्पनीका सीईओ मार्क जुकरबर्गको “व्यक्तिगत सुपरइन्टेलिजेन्स” विकासको दीर्घकालीन दृष्टिकोणसँग पनि जोडिएको बताइएको छ।

मेटाका सीईओ मार्क जुकरबर्गले रिलायन्ससँगको साझेदारीलाई महत्वपूर्ण कदम भन्दै भारतमा पहिलो एआई डाटा सेन्टर निर्माण गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार जामनगरस्थित यो पूर्वाधारले विश्वव्यापी एआई विस्तारसँगै भारतीय डिजिटल अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउनेछ।

साझेदारीअनुसार रिलायन्स इन्डस्ट्रिजले डाटा सेन्टरको सम्पूर्ण जीवनचक्र व्यवस्थापन गर्नेछ। यसमा डिजाइन, विकास, युटिलिटी व्यवस्थापन, नवीकरणीय ऊर्जा आपूर्ति, नेटवर्क कनेक्टिभिटी तथा पूर्ण सञ्चालन सेवा समावेश हुनेछन्।

यस परियोजनासँगै रिलायन्सले भारतमा हाइपरस्केल एआई पूर्वाधारका लागि एकीकृत सेवा प्रदायकको रूपमा आफ्नो भूमिका थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। यसले ग्राहकहरूलाई एकै ठाउँबाट सम्पूर्ण डाटा सेन्टर सेवाहरू उपलब्ध गराउने संरचना विकास गर्नेछ।


सम्बन्धित समाचार