Logo

२९ जेठ, काठमाडौँ । सरकारले लगानी बोर्ड नेपालको रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट खुला प्रतिस्पर्धात्मक माध्यमद्वारा आवेदन माग गरेको हो ।

‘सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५’ को कानुनी व्यवस्था बमोजिम देशको ठूला पूर्वाधार र वैदेशिक लगानी भित्र्याउने प्रमुख निकायको नेतृत्वका लागि यो दरखास्त आह्वान गरिएको हो ।

सूचना अनुसार यस गरिमामय पदका लागि उच्च शैक्षिक योग्यता र विशिष्टीकृत कार्यअनुभवलाई अनिवार्य सर्त बनाइएको छ । आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रमा नेतृत्वदायी क्षमता प्रमाणित गर्न उम्मेदवारसँग परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ ।

सिफारिस समितिले आवेदनका लागि उमेरको हदबन्दी समेत तय गरेको छ । जसअनुसार निवेदन दिने अन्तिम मितिसम्म आवेदकको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । बोर्डलाई रणनीतिक नेतृत्व दिन सक्ने व्यावसायिक व्यक्तिको पहिचानका लागि इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक प्रमाणपत्र र कार्यअनुभव खुलाउने कागजातका साथमा बोर्ड सञ्चालन सम्बन्धी एक विशेष ‘रणनीति र कार्ययोजना’ समेत पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।

यो आकर्षक एवं चुनौतीपूर्ण पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन फारम तथा रणनीति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा बुझाउनुपर्ने समितिले जनाएको छ ।

pm


सम्बन्धित समाचार