२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशनबाट सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् ।
मोरङको विराटचोकमा सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै मोरङका राई २८० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ ले १४१ मत प्राप्त गर्दा अन्य उम्मेदवारहरू चन्द्रकुमार गौली ‘निरज’ र डा. खगेन्द्र कटुवालले क्रमशः २७ र ४१ मत पाएका छन् ।
निर्वाचन प्रक्रिया विवादरहित भने रहेन । मतदानको समयमा केन्द्रीय तहका नेता र सांसदहरूले नै प्यानल बनाई उम्मेदवारको सूची (लिष्ट) बाँडेको भन्दै सभापति पदकी उम्मेदवार तामाङले खुलेरै विरोध जनाएकी थिइन् । पार्टीको आन्तरिक लोकतन्त्रमा बलियो दाबेदार मानिएकी र हालसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेकी तामाङको पराजयले पार्टीभित्रको कतिपय आन्तरिक असन्तुष्टिलाई पनि सतहमा ल्याइदिएको छ ।
सभापति पदमा पराजित भएसँगै तामाङले आफ्नो सक्रिय राजनीतिबाट ‘बिट मारेको’ घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले मतदाता र समर्थकहरूलाई धन्यवाद दिँदै यस्तो घोषणा गरेकी हुन् ।
रास्वपाको यस प्रदेश अधिवेशनले कोशी प्रदेशमा नयाँ नेतृत्व चयन गरे पनि निर्वाचनमा देखिएको प्यानलगत प्रतिस्पर्धा र त्यसपछिको राजीनामाको घटनाले पार्टीभित्रको आगामी राजनीतिक यात्रा थप चुनौतीपूर्ण देखिएको छ ।
















