२८ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि खुला सिमानामा तत्काल तारजाली लगाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले विकास निर्माणका ठूला आयोजनाभन्दा सीमाको सुरक्षा अहिलेको प्राथमिक आवश्यकता रहेको बताए । उनले सीमामा तारजाली लगाउनका लागि सरकारले कम्तीमा १ खर्ब रुपैयाँ बजेट छुट्याउनुपर्ने जिकिर गरे ।
सामाङले सीमा क्षेत्रको सुरक्षालाई सामान्य पसलको सुरक्षासँग तुलना गर्दै भने, ‘एउटा सानो पसल सुरक्षित राख्न त वाचम्यान र सीसीटीभी प्रयोग गरिन्छ, तर हाम्रो देशको सिमाना खुला छ ।’ उनले सीमामा तारबार लगाउनुका साथै सुरक्षाका लागि सेना नै परिचालन गर्नुपर्ने धारणा राखे । सडक र पूर्वाधार निर्माणमा बजेट खर्चनुभन्दा पहिले राष्ट्रको सिमाना सुरक्षित राख्नु राज्यको मुख्य दायित्व भएको उनको तर्क छ ।
यसका साथै, प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिलाई लिएर साम्पाङले आफ्नो अडान कायमै रहेको स्पष्ट पारेका छन्। संसदको अवरोध खुले पनि प्रधानमन्त्रीले संसदमा आएर उक्त विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको माग छ ।
राष्ट्रियतासँग जोडिएको विषयमा सरकार गम्भीर हुनुपर्ने र प्रधानमन्त्री स्वयंले सदनमार्फत स्पष्टीकरण दिनुपर्ने अडानबाट आफ्नो पार्टी पछि नहट्ने साम्पाङले चेतावनी दिएका छन् ।
















