Logo

२८ जेठ, काठमाडौं । ओमानको खाडीमा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमा परी तीनजना भारतीय नागरिकको ज्यान गएको छ ।

सुरुमा बेपत्ता भनिएका ती नाविकहरूको शव फेला परेपछि भारतमा शोकको लहर छाएको छ। भारतका बन्दरगाह, जलमार्ग तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले घटनाको पुष्टि गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले उद्धार गरिएका बाँकी चालक दलका सदस्यहरूलाई सकुशल स्वदेश फर्काउने र मृतकहरूको शव सम्मानका साथ भारत ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।

घटनालगत्तै भारतले कूटनीतिक रूपमा कडा प्रतिक्रिया जनाएको छ । नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई विदेश मन्त्रालयमा डाकेर भारतले आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । कूटनीतिक वृत्तमा यस घटनालाई लिएर भारत र अमेरिकाबीचको सम्बन्धमा तनावको संकेतका रूपमा हेरिएको छ ।

यता, अमेरिकी सेन्ट्रल कमाण्डले भने सो ट्यांकरले इरानबाट तेल ढुवानी गर्दै नाकाबन्दीको गम्भीर उल्लंघन गरेको दाबी गरेको छ। पटक–पटकको चेतावनी बेवास्ता गरेपछि अमेरिकी लडाकु विमानले जहाजको इन्जिनलाई लक्षित गरी गरेको ुसटीक प्रहारु मा जहाज क्षतिग्रस्त भएको र मानवीय क्षति हुन पुगेको अमेरिकी भनाइ छ ।

खाडी क्षेत्रमा जारी इरान र अमेरिकाबीचको सैन्य तनावले यसपटक निर्दोष भारतीय नाविकहरूको ज्यान लिएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका(इजरायल र इरानबीचको सैन्य टकरावमा अप्रिलमा भएको भनिएको युद्धविराम केवल कागजमै सीमित देखिएको छ ।

खाडीको समुद्री व्यापारिक मार्गमा देखिएको यो पछिल्लो सैन्य झडपले विश्वभरका समुद्री सुरक्षा र द्वन्द्वग्रस्त क्षेत्रमा फसेका विदेशी नागरिकको सुरक्षाबारे नयाँ बहस सिर्जना गरेको छ । हाल अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेसँगै यस क्षेत्रमा थप ठूलो सैन्य टकरावको जोखिम बढेर गएको छ ।


सम्बन्धित समाचार