२८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिएको विवादास्पद अभिव्यक्तिको विषयले संसदमा अझै साम्य हुने संकेत देखाएको छैन ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको पछिल्लो भनाइले राष्ट्रिय स्वाभिमानमा चोट पुर्याएको भन्दै आपत्ति जनाएका छन् । दुलालले आफ्नो पार्टी संसद सुचारु गराउन ‘एक कदम पछि हटेको’ भए पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति माफी दिने वा विषयलाई बिर्सने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री शाहको उक्त विवादास्पद भनाइ—जसमा उनले नेपालले पनि भारतको जमिन मिचेको दाबी गरेका थिए—संसदको रेकर्डबाट हटाउनुपर्ने नेकपाको बटमलाइन रहेको प्रमुख सचेतक दुलालले बताए । उनले प्रधानमन्त्रीले नै संसदको रोस्ट्रमबाट सो भनाइ फिर्ता लिँदै स्पष्टीकरण दिनुपर्ने माग दोहोर्याए । ‘संसद चलाउन हामी लचक बनेका हौँ, तर यसको अर्थ प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिलाई हामीले माफी दिइसकेका छौँ भन्ने होइन,’ उनले भने ।
सरकारको गैरजिम्मेवार शैलीका कारण मुलुक र संसदले समेत अनावश्यक तनाव झेल्नुपरेको भन्दै दुलालले प्रधानमन्त्रीलाई आफ्नो जिम्मेवारीबोध गर्न सुझाए । प्रधानमन्त्रीको मुखबाटै उक्त भनाइको खण्डन नआएसम्म र राज्यको औपचारिक धारणा सार्वजनिक नभएसम्म आफ्नो पार्टीको अडान कायमै रहने उनको जिकिर छ ।
नेकपाको यो कडा अडानले प्रधानमन्त्री बालेन शाहमाथि राजनीतिक दबाब थपिएको छ भने संसदको गतिरोध पूर्ण रूपमा हटिसकेको छैन भन्ने संकेत गरेको छ ।
















