२९ जेठ,काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एक एग्रोभेटबाट खरिद गरिएको विषादी प्रयोग गरेपछि जुटबालीमा ठूलो क्षति पुगेको भन्दै एक किसानले क्षतिपूर्तिको माग गरेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–५ का किसान आलम अन्सारीले जुटबारीमा उम्रिएको घाँस नियन्त्रण गर्न भन्दै खरिद गरिएको विषादी छर्किएपछि घाँससँगै जुटबालीसमेत सुकेर नष्ट भएको गुनासो गरेका छन्। उनले करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै सम्बन्धित पक्षसँग क्षतिपूर्तिको माग गरेका हुन्।
किसान अन्सारीले एग्रोभेट, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र तथा वडा कार्यालयमा निवेदन दिँदै न्यायको माग गरेका छन्। अरूको जग्गा अधियाबटिया तथा ठेक्कामा लिएर खेती गर्दै आएका उनले बीउ, मल, विषादी, जोताइ तथा गोडमेलमा करिब एक लाख रुपैयाँ लगानी गरेको बताएका छन्।
“करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा थियो, तर घाँस मार्ने भनेर ल्याएको विषादीले बाली नै नष्ट गरिदियो,” अन्सारीले बताए।
घटनाबारे स्थानीय जनप्रतिनिधिले समेत चासो देखाएका छन्। भोक्राहा नरसिंह गाउँपालिका–५ का वडाध्यक्ष हबिब मन्सुरीका अनुसार घटना भएको करिब तीन सातापछि पनि बाली जोगाउन विभिन्न प्रयास गरिए तापनि सफल हुन सकेको छैन।
उनका अनुसार किसान अन्सारीले विभिन्न कित्ता नम्बरका जग्गामा लगाएको जुटबालीमा इनरुवास्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको घाँस नियन्त्रण गर्ने विषादी प्रयोग गरेका थिए। तर विषादी प्रयोग गरेपछि घाँस नष्ट हुनुको सट्टा बाली नै सुक्न थालेको स्थलगत निरीक्षणमा देखिएको उनले बताए।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक प्रक्रिया अघि बढाउन किसानलाई सुझाव दिइएको जानकारी दिए।
यता, साह कृषि एग्रोभेटका सञ्चालक जयकुमार साहले विषादी प्रयोगपछि देखिएको समस्याबारे प्राविधिक तथा विज्ञ टोलीले स्थलगत अध्ययन गरिसकेको बताए। “कहाँ र कसरी कमजोरी भयो भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन,” उनले भने।
घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अध्ययन र अनुसन्धान गरिरहेको जनाइएको छ।
















